हिन्दु राष्ट्र र राजतन्त्र फर्काउने राप्रपाको मुद्दामा जनताको समर्थन छः राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रपाटी न्युज

१ श्रावण २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए ।

उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए । उनले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइए पनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनताले राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए ।

पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताए । उनले अर्को चुनावमा ७० सिट ल्याउने बताए । उनले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवाल लगाएर हिँड्न राप्रपाले बाध्य बनाएको बताए । उनले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताए ।

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनै पनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गरे । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।


Published :१ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media