काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउन नहुने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले नेपाल एकीकरणमा सेनाको भूमिका महत्वपूर्ण रहेको भन्दै अपमान हुने काम कसैबाट गर्न नहुने बताए।
राज्यका चारवटा अंगमध्ये एउटा मात्रै कमजोर भयो भने दुर्घटना व्यहोर्नुभन्दा अरू केही नहुने उनको भनाइ छ ।
गौतमले सेनाको संख्या हाल करिब ९६ हजार रहेको र यसलाई बढाएर दुई लाख पुर्याउनुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘
नेता गौतमले सेनाको संख्या बढाएर देश निर्माणका लागि औद्योगिक र कृषि निर्माणको क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । नेपाली सेनाले हरेक ठाउँमा आफूलाई ऐतिहासिक रुपमा स्थापित गर्दै आएको उनको भनाइ छ। अप्ठ्यारो पर्दा नेपाल र नेपाली जनताको रक्षाका लागि सेनाको साथ रहेको भन्दै नेता गौतमले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सेनाको अहम भूमिका रहेको बताए ।