काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए ।
६ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए । पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा थापाले आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताउँदै आएका छन् ।
उनले महामन्त्रीको कार्यतालिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘नेताहरुको जन्मजयन्ती र स्मृतिमा कार्यक्रम गर्ने जिम्मा प्रदेशलाई दिनुपर्छ । प्रदेशले कुन प्रदेशमा कुन नेताका नाममा कार्यक्रम गर्ने भनेर काम गर्न सजिलो हुन्छ ।’
सहमहामन्त्रीलाई कलस्टर अनुसारको जिम्मेवारी दिनुपर्ने रिजालले बताए । शहर र राजमार्ग क्षेत्रमा कांग्रेसको मत घटेको भन्दै उनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
केन्द्रीय सदस्य रिजालले कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बताए । यसपटक लाइभ गरेर सभापतिले ‘हात्ती सबैले छाम्न पाउन्’ भनेर लाइभ गरेको हुन सक्ने बताए। ‘हात्ती राम्रै छ सबैले छाम्न पाउन् देख्न पाउन् भनेर यो बैठक लाइभ भएको होला। एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ भन्ने मलाइ लाग्छ’ डा. रिजालले भने ।