काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केही कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताए ।
उनले सुन प्रकरणमा मेसिन वा मानविय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दावी गरे । मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए । उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे ।
उनले बिमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको बताए । राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैर कानुनी गतिविधिहरु कम भएर जाने उनले बताए ।