ऐनमा माग सम्बोधन गर्न राहत शिक्षकको माग, अन्यथा सशक्त आन्दोलन गर्ने चेतावनी

राष्ट्रपाटी न्युज

१२ श्रावण २०८०

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा विगतदेखि नै आफूहरुले उठाउँदै आएका मागहरु सम्बोधन सरकारसँग माग गरेको छ ।

समितिले विगतदेखि नै आफूहरुले राख्दै आएका मागहरू सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै पालिकाका अध्यक्षहरूलाई आन्दोलनका लागि तयारी अवस्थामा रहनसमेत समितिले सर्कुलर जारी गरेको छ ।

संघीय शिक्षा ऐनमा आफ्ना मागहरु सम्बोधन नभए नेपाल राहत शिक्षक आन्दोलन परिचालन समिति (स्पेसल टास्कफोर्स) को बैठकले सशक्त आन्दोलनको घोषणा गर्ने र त्यसका लागि देशभरका सबै समितिलाई हाई अलर्टमा राख्ने निर्णयसमेत गरेको छ ।

देशभर रहेका ४० हजारभन्दा बढी राहत शिक्षकहरू विगत लामो समयदेखि आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलनमा छन् । बैठकले हाल संघीय शिक्षा ऐनको मस्यौदा औपचारिक रुपमा छलफलमा नआइसकेकाले सरोकारवाला निकायसँग छलफलमा ल्याउन तत्काललाई लविङको माध्यमबाट दबाब सिर्जना गर्ने भएको छ ।

संघीय शिक्षा ऐनको मस्यौदा औपचारिक रुपमा छलफलमा आएपछि माग सम्बोधन नहुने अवस्था आए वा शिक्षा मन्त्रालयले एकलौटी ढंगले क्याविनेटबाट पास गराई संसदमा पेश गरेको अवस्थामा सशक्त  आन्दोलन गर्ने भएको हो । बैठकले साउन १९ र २० गते गर्ने भनिएको केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाधिवेशन मौसम प्रतिकूलताका कारण स्थगित गर्ने निर्णय गरेको जारी सर्कुलरमा उल्लेख गरिएको छ ।

 


Published :१२ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media