नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।
शनिबार नेपालगञ्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँग मात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताए ।
ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरु कुनै पार्टीसँग नरहेको प्रष्ट पारे ।
एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरी तयारी गर्न निर्देशन दिए ।
उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरूसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने बताए ।
अहिले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई उनले निर्देशन दिए ।