रुपन्देही । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले आज बुटबलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताए । उनले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने समेत बताए ।
फरक प्रसङ्गमा नेता पौडेलले संघियतालाई बलियो बनाउनका लागि सांसदहरूको संख्या घटाउनुपर्ने बताए । हालै सम्पन्न कांग्रेस केन्द्रिय समितिको बैठकमा यो विषयले प्रवेश पाएको बताउँदै पौडेलले संघिय संसद्को संख्या घटाएर २०१ सदस्यीय बनाउने र सोहीअनुसार प्रदेश सभामा समेत संख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको संख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृतलगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने पौडेलको भनाई छ ।