काठमाडौँ । मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट अर्थात गत साताको सोमबारदेखि नेप्से निरन्तर ओरालो लागिरहेको थियो । पछिल्ला ५ कारोबार दिनमा नेप्से परिसूचक १२६.८१ अंक घटिसकेको छ ।
यस दिन नेप्से परिसूचक ५.८४ अंक बढेर २१०६.१८ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ ।
नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन साढे २ अर्ब रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन २६२ स्टकको ४० हजार ३०३ पटकको कारोबारमा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमबार सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ७.१० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बलेफी हाइड्रोपावरको शेयरमूल्य ५.७९ प्रतिशत बढेको छ। अन्य स्टकको शेयरमूल्य वृद्धिदर भने यस दिन ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको विन नेपाल लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकको ऋणपत्रको मूल्य यस दिन ४.३१ प्रतिशत घटेको छ।
कारोबारमा रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोल्टी होटलको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक यस दिन १.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन घटेको छ ।