एमालेको अडानपछि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

राष्ट्रपाटी न्युज

१५ श्रावण २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले सुन प्रकरण छानबिन गर्न समिति बनाउनुपर्ने अडान लिएपछि आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार दिउँसो १ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको बताए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ । यसमा सत्तापक्ष तयार भएको छैन ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।

संसदको गतिरोध हटाउने विषयमा उनीहरूबीच कुराकानी भएको थियो। तर, प्रधानमन्त्री दाहालले स्पष्ट जवाफ नदिएको बुझिएको छ ।


Published :१५ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media