विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
गठबन्धनबाट मुख्यमन्त्री भएका थापाले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्समा समेटेका छन् ।
मुख्यमन्त्री थापाले माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका हुन् ।
गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री थापाले सपथग्रहण गरेलगत्तै तीनै जना मन्त्रीले पनि सपथ खाएका थिए ।
सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको वरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् ।
जबेगु र सुनुवार असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरू मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त भएका थिए ।