पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले मुलुकलाई संकटबाट पार लगाउने कामको नेतृत्व आफ्नो पार्टीले गरिरहेको दावी गरेका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश प्रचार तथा प्रकाशन विभागले शनिवार पोखरामा आयोजना गरेको प्रचार कार्यशाला गोष्ठीमा बोल्दै उनले राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्दै मुलुकलाई संकटमुक्त बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताएका हुन् ।
उनले आर्थिक-सामाजिक रुपान्तरणमार्फत् मुलुकमा देखिएको संकट समाधान गर्ने अभियानमा आफूहरु जुटिरहेको समेत बताए ।
सचिव विष्टले मुलुकमा व्यापारघाटा चुलिँदै गईरहेको भन्दै यस्तो बेला तत्काल राष्ट्रिय पूँजीको निर्माण गर्ने कार्यमा जुट्नुपर्ने आवश्यक्ता रहेको बताए ।
सचिव विष्टले काम गर्ने युवा जनशक्ति श्रमको खोजीमा विदेशिन बाध्य हुने अवस्था आएको उल्लेख गर्दै त्यसलाई रोक्ने गरी एमालेले योजना तर्जुमा गरिरहेको बताए । त्यस अवसरमा उनले पार्टीको प्रचार तथा प्रसार कार्यलाई विश्वसनीय र भरपर्दो बनाउनु पर्नेमा पनि जोड दिए ।