नेप्सेमा ३८.३७ अंकको गिरावट

राष्ट्रपाटी न्युज

२१ श्रावण २०८०

काठमाडौँ । आइतबार पनि शेयर बजार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा झरेको छ ।

२ अर्ब ६८ करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर कारोबार भएको छ । घट्दो बजारमा कारोबार रकम बढ्नुलाई राम्रो मानिँदैन । यसले बजारमा अझै धेरै बिक्री चाप बढेको संकेत गर्छ ।

आइतबार सबै बाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तेस्रो त्रैमाससम्ममा खराब कर्जा बढीरहेको बैंकहरुको चौथो त्रैमासमा पनि वित्तीय विवरण प्रभावित हुनसक्ने आँकलन गरिएको थियो । तर बैंकहरुले खराब कर्जामा सुधार गर्दा उनीहरुको नाफा सन्तोषजनक देखिएको छ ।

तर पनि बैंकहरुको वित्तीय विवरणले लगानीकर्तालाई तान्न सकेन । आकर्षक नाफा कमाउने केहि बैंकको शेयरमूल्य बढे पनि अन्य बैंकहरुको शेयरमा लगानीकर्ताको आकर्षण खासै देखिएन। यसबाहेक पनि अन्य समूहका कम्पनीहरुमा पनि बिक्री चाप उच्च देखियो।

आइतबारको बजारमा भरखरै आइपीओ जारी गरेर सूचीकृत भएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडयाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने राम्रो वित्तीय विवरण पस्किएको कृषि विकास बैंकको शेयरमूल्य ६.७३ प्रतिशतले बढेको छ ।

यता प्रोगेशिभ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.५९ प्रतिशतले घटेको छ भने अभियान लघुवित्तको शेयरमूल्य ८.०४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ।

आइतबार सानिमा बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, शिवम सिमेन्ट र ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक भएका छन्। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै ३.५९ प्रतिशतले घटेको छ ।


Published :२१ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media