काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ ।
आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् ।
प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारले गरिरहेका राम्रो कामको प्रचार गर्न पनि आग्रह गरेका छन् । उनले भने ‘सरकारले जे जति राम्रो काम गरेको छ, राम्रा कामको मार्केटिङ पुगेको छैन । तपाईँहरूले अभियान चलाउनुस्’ ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् ।
यसैगरी माओवादीले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् ।
यो अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।