काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन् ।
सोमबार नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताए । उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने बताए ।
सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको उनले बताए । उनले सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफुले ध्यानाकर्षण गराएको बताए ।
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दैगर्दा सम्बन्धित व्यक्तिको छविको विषयमा ध्यान नपुयाउनु सरकारको गम्भिर गल्ती भएको उनले बताए ।
महामन्त्री शर्माले संसद अवरुद्ध गरेर बाहिरबाट समाधान खोज्नु संसदीय प्रक्रिया नभएको भन्दै अवरुद्ध संसद खोलेर बहश गरी निष्कर्षमा पुग्नुपर्ने बताए । उनले हरेक विषय आउनासाथ संसद अवरोध गरिहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।