काठमाडौं । उच्चस्तरीय छानबिन समिति गठनमा सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबारको प्रतिनिधिसभा बैठक फेरि अवरोध गरेको छ ।
साउन १० गतेपछि बस्न नसकेको संसद बैठक आज बसेको थियो। आजको बैठकमा सुरूमा सबै दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका विषयमा प्रतिनिधिसभामा जवाफ दिए पनि उच्चस्तरीय छानबिन समिति गठनमा सरकारी प्रतिवद्धता नआएको भन्दै एमालेले अवरोध गरेको हो ।
गृहमन्त्रीको जवाफ पछि एमालेका सचेतक महेश बर्तौलाले उठेको बिषयभन्दा बाहिर गएर गृहमन्त्रीले अभिव्यक्ति दिएको आरोप लगाए ।
गृहमन्त्री श्रेष्ठको जवाफमा चित्त नबुझाएर एमालेले संसदमा नाराबाजी गरेको थियो । एमालेको अवरोध पछि बैठक स्थगित भएको हो ।
एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठकका कार्यसूची हटाएर अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिए ।