काठमाडौं । प्रतिनिधि सभा बैठक अवरोधका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार भिन्न तरिकाले आफ्नो कुरा राखेको छ ।
बुधबार एमालेको नाराबाजी र वेल घेराउपछि प्रतिनिधि सभा बैठक स्थगित भएको थियो । त्यसपछि संसद भवन बाहिर मुलगेटमा रास्वपाका २० जना सांसदहरू भेला भएर सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ-आफ्ना कुरा राखेका थिए ।
रास्वपा सभापतिसमेत रहनुभएकाका सांसद रवि लामिछानेले जनताका कुरा राख्न नपाइएको भन्दै सुन प्रकरण छानबिन गरिनुपर्ने बताए ।
संसदभित्र राख्न नपाइएको हुनाले संसद भवनलाई साक्षी राखेर सभामुखलाई आफ्ना कुराहरु राख्न चाहेको बताउँदै सभापति लामिछानेले उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने बताए ।
मन्त्रालयस्तरको संलग्नता बारे आफूले भन्न नसक्ने बताउँदै उनले यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कुरा कसैसामु नलुकेको बताए । साथै लामिछानेले अर्थ मन्त्रालयका सचिव तथा प्रहरी प्रमुखकै संलग्नता छ कि भन्ने शंका समेत उब्जिएको बताए ।
साथै रास्वपाका अन्य सांसद तोसिमा कार्की, स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ लगायतले समसामयिक घटनाका विषयमा भनाइ राखेका थिए । । उनीहरुले संसदभित्र जसरी नै बाहिर कुरा राखेका थिए ।
एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ ।
एमालेको नाराबाजीका कारण बुधबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।