मलंगवा । सर्लाही सदरमुकाम मलंगवाको अवस्था शनिवार तनाव ग्रस्त बनेको छ ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेको हो ।
शुक्रबार मध्यरातबाट अवस्था सामान्य भए पनि शनिबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित युवाहरु बिहानदेखि चौक चौकमा टायर बालेर प्रदर्शनमा उत्रेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिनका लागि मलङ्गवा बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।
गए राति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको छ ।
सम्पूर्ण पसल, व्यवसाय बन्द छन् भने मानिसको चहलपहल न्यून देखिन्छ । यातायातका साधन चलेका छैनन् । बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेको छ ।