नेपालले सहस्राब्दी विकास लक्ष्यलाई उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

राष्ट्रपाटी न्युज

२ आश्विन २०८०

वाशिङ्टन डिसी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाअन्तर्गतको ‘विश्व सहस्राब्दी समिट’लाई अतिकम विकसित देशहरूको तर्फबाट सोमवार सम्बोधन गर्दै सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको बताए । यसका लागि नेपालले आफ्ना योजना, नीति तथा कार्यक्रममा सहस्राब्दी लक्ष्यलाई एकीकृत ढङ्गले अगाडि बढाएको उनको भनाइ छ ।

उनले सन् २०३० सम्ममा गरिबीको अन्त्य र असमानता हटाउनका लागि दृढ रहेको उल्लेख गर्दै यही लक्ष्यअनुरूप कसैलाई पनि पछाडि नछाड्ने योजनामा प्रतिबद्ध रहेको बताए ।

उनले विश्वव्यापीरूपमा कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक गतिरोधले गर्दा प्रगतिमा केही पछाडि धकेलिएको चर्चा गरे ।

प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरूमा सिधा वैदेशिक लगानी घट्दै गएकामा चिन्ता व्यक्त गर्दै  सन् २०२२ मा यस्तो लगानी सन् २०२१ को तुलनामा ३० प्रतिशतले घटेको र यसको असर पूर्वाधार र नवीकरणीय ऊर्जामा लगानी खानेपानी, सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा गम्भीररूपले परेको बताए ।

उनले अतिकम विकसित देशहरूको बाह्य वित्तीय साधन परिचालनमा सन् २०२१ को तुलनामा सन् २२ मा ४१ प्रतिशतबाट ५४ प्रतिशतमा वृद्धि भएको बताए । उनले अतिकम विकसित देशहरूको लागि अधिकतम वित्तीय साधनको परिचालन गरेर ‘एसडीजी प्याकेज’ नै महत्त्वपूर्ण कोसेढुङ्गा हुने उल्लेख गर्दै सन् २०२५ सम्ममा उपलब्ध गराइने वित्तीय साधन समयमा र उच्च महत्वका साथ उपलब्ध गराउनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताए ।

प्रधानमन्त्री दाहालले विकसित देशहरूले अल्पविकसित देशहरूलाई जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न स्थापित कोषमा उपलब्ध गराउनुपर्ने कुल राष्ट्रिय उत्पादनको शून्य दशमलव सात प्रतिशतले रकमबाट शून्य दशमलव १५ प्रतिशत र शून्य दशमलव २० प्रतिशतमा पुर्‍याउनु अपरिहार्य भएको उल्लेख गरे ।


Published :२ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media