आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने स्थानीय तहको चेतावनी

राष्ट्रपाटी न्युज

४ आश्विन २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौँमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् ।

शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा परेपछि स्थानीय तहहरुले चासो दिएका छन् । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने मागमा सहमति भएपनि विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न उनीहरुले अनुरोध गरेका छन् ।

पालिकाहरुले पनि विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि विद्यार्थी संगठनले चर्को शुल्क लिएको भन्दै विद्यालयहरुमा ताला लगाउँदा पनि महानगरले ताला फुटाएर पठनपाठन सुचारु गराएको थियो ।

बुधबार साँझ मात्र काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।


Published :४ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media