शिक्षकका संघ संगठन खारेज गर्नुपर्ने कांग्रेसको माग

राष्ट्रपाटी न्युज

५ आश्विन २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यले शिक्षकका संघ/संगठन खारेज गर्नुपर्ने माग गरेका छन् । नेपाल शिक्षक महासंघको आन्दोलनलाई लक्षित गर्दै शुक्रबार केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरुले शिक्षकलाई राजनीतिक संस्थामा आबद्ध हुन दिन नहुने बताएका हुन् ।

केन्द्रीय सदस्य गोपाल दहितले पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग गरेका छन् ।

अन्य वक्ताले भने शिक्षकको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसनिकट शिक्षकहरुको पनि नेपाल शिक्षक संघ रहेको छ। कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आबद्ध छन्।

शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै बुधबारदेखि सुरु भएको आन्दोलनमा सहभागी हुन काठमाडौंमा विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका आएका हुन् ।

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन्।

विभिन्न नारा लेखिएको प्ले–कार्डसहित प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरुले शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिताबिना लेखिएको विधेयक मान्य नहुने बताएका छन् ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी राहत गरी एक लाख ५७ हजार तीन सय ४३ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।

सरकार र महासंघबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको महासंघको गुनासो छ ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।


Published :५ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media