काठमाडौँ । कोशी प्रदेशमा सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदैछ । संविधानको धारा १६८(३) अन्तर्गत गत भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीले आज चारजना मन्त्री थप्न लागेका छन् ।
कार्कीले मोरङका लीलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउने भएका छन् ।
यसअघि भदौ २२ गते कोशीमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, झापाका एकराज कार्की र खोटाङका पाँचकर्ण राईलाई मन्त्री भएका थिए । त्यस्तै भोजपुरकी सिर्जना राई राज्यमन्त्री बनेकी थिइन् ।
सोमबार मन्त्री बन्न लागेकामध्ये अधिकारी यसअघि भीम आचार्यको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए ।
सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी कार्कीकै मन्त्रिमण्डलमा सामाजिक विकास मन्त्री थिए । राम प्रसाद मेहता र निरन राई नयाँ अनुहार हुन् ।
नवनियुक्त मन्त्रीहरुका सपथ आजै हुने बताइएको छ ।