काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा सरकारले जाँचबुझ आयोग गठनमा ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सुन काण्डमा सरकारले आलटाल गरे ढिलै भए पनि एमालेले छानबिन गरेर छोड्ने चेतावनी दिएका छन्।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १०० किलो सुन पछि ६१ किलो मात्रै भएको जानकारी गराएको भन्दै आपत्ति जनाए ।
एक महिनासम्म सुन तस्करीको व्यापाक छानबिन हुनुपर्छ भनेर दबाब दिँदा मात्रै छानबिन गर्न सरकार तयार भएको उनको भनाइ छ। उनले बिजुली चुरोटमार्फत् भित्रिएको भनिएको साढे ९ किलो सुन कहाँ गयो भन्दै प्रश्न गरे । उनले सबै सुन प्रकरणको एक-एक गरी छानबिन हुनुपर्ने माग गरे । ओलीले सुनकाण्डका भरिया मात्रै नभइ कारोबारीलाई समात्नुपर्ने बताए ।
सुनकाण्ड मात्रै नभइ सबै भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्छ भन्दा उल्टै एमालेतर्फ अनेक आरोप लाग्ने गरेको बताए ।