अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको छः ओली

राष्ट्रपाटी न्युज

९ आश्विन २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताए।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन् ओरालो लाग्नु चिन्ताको बिषय भएको उनले बताए । अर्थतन्त्रमा देखिएको असर व्यवसायीमाथि देखिँदासमेत सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ धकेल्ने गरी बजेट ल्याउँदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफूलाई आश्चर्य लागेको उनले बताए । मुलुकमा धेरै समस्या आउँदा पनि सरकार विभिन्न प्रकरण चलाउँदै कमिशनको चक्करमा लागेको आरोप लगाए ।

उनले सुनतस्करी प्रकरणमा भरिया नभएर लगानी गर्ने वास्तविक मालिकको खोजी गर्नुपर्ने बताए । उनले व्यवसायीहरूको समस्याका बारेमा आफूले राष्ट्र बैंकलगायत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिबद्धता जनाए।


Published :९ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media