डाक्टरमाथि कुटपिट गर्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

राष्ट्रपाटी न्युज

१० आश्विन २०८०

पोखरा । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि उत्पन्न विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच भएको झडपका बेला विवादास्पद अभिव्यक्ति दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको उनले बताए ।

उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्रवण विकले जानकारी दिए ।

इन्स्पेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भीडमा अभिव्यक्ति दिएका थिए । श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारबाही माग गरेका थिए ।

मणिपालका चिकित्सकहरु दोषीलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार धर्ना दिएका थिए भने मृतक आफन्त सहित पक्षधरले पनि महेन्द्रपुलमा प्रदर्शन गरेका थिए ।


Published :१० आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media