प्रधानमन्त्रीले कोप सम्मेलनमा जलवायु परिवर्तनबाट नेपालमा परेको असरबारे स्पष्ट कुरा राख्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन् ।

शनिबार नेपाल पर्वातरोहण संघले सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति द्वीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोगभन्दा पनि अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताएका हुन ।

नेपालले नगरेको कामको मूल्य चुकाउन नसक्ने भन्दै उनले कार्बन उत्सर्जनमा कमजोरी गरेकाले अधिकारका रुपमा नेपाललाई जलवायु कोषमार्फत क्षतिपूर्ति दिनुपर्ने धारणा राखेका छन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, व्यवस्थित पर्यटकीय गतिविधि सञ्चालन, सगरमाथाको सुरक्षा र सफाइलाई प्रभावकारी रुपमा लैजान सरोकारवालाको सहभागितामा आवश्यक कार्यविधि बनाइने जिकिर गरेका छन् ।

कालापथ्थर क्षेत्रमा दीप प्रज्वलन हस्तान्तरण र झण्डोत्तलन गर्नु आफैँमा पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खुम्बु क्षेत्रमा गरेको भ्रमणले विश्वको ध्यानाकर्षण भएको बताएका छन् ।


Published :२ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media