८४ को निर्वाचनबाट एमालेको एकल बहुमतको सरकार बन्ने ओलीको दाबी

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरेका छन् ।

मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गरे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने, देशलाई अहिलेको बेथिति र विसंगतिबाट बाहिर निकाल्न एमालेको सरकारको विकल्प नै नभएको जिकिर पनि उनले गरे।

छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारको रहने उनले बताए। मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उनले बताए।

दुर्गा प्रसाईँलाई नयाँ तत्वको सिखण्डीको संज्ञा दिँदै ओेलीले भने, ‘अहिले देशमा केही नयाँ तत्वहरू उफ्रिइरहेका छन्। अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन। कुनै मतलब पनि राख्दैन। किनकि एमाले सिसाको गिलास हेइन। जुन कतै ठोक्कियो भने पिटिक्कै फुटिहाल्ने। एमाले त्यस्तो इस्पात हो, जुन घनले हान्दा पनि टसमस हुँदैन। त्यसैले अहिले उफ्रिइरहेका नयाँ सिखण्डीहरूको एमालेले मतलब नै राख्दैन।’

ओलीले भगवान रामको जन्मभूमि पर्साको ठोरी नै भएको दोहोर्‍याए । कार्यक्रममा पप्पु कन्ट्रक्सनका पूर्व सञ्चालक हरिनारायण  रौनियार जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका  सयौं नेताकार्यकर्ता पनि एमाले प्रवेश गरे । एक वर्षदेखि जसपामा निस्क्रिय रहेका केही दिन अगाडि काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । त्यही भेटमा  एमालेमा प्रवेश गर्न तयार भएका रौनियार मंगलबार आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा रौनियारले जसपा र उसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफूले जसपा परित्याग गरेको बताए ।

 


Published :५ मंसिर २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media