आज राजधानीमा युवा संघ र दुर्गा प्रसाईं समूहको छुट्टाछुट्टै प्रदर्शन

काठमाडौं । आज राजधानीमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

दुवैको प्रदर्शन माइतीघर मण्डलामा गर्ने घोषणा गरेपछि जिल्ला प्रशासनले कार्यालय काठमाडौंले सम्भावित झडप रोक्न निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले नै युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न ठाउँ तोकिदिएको थियो । सोही अनुसार उनीहरुले प्रदर्शन गर्दैछन् ।

प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको प्रहरीले जनाएको छ ।

जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।

उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारी पनि भएको बताइएको छ ।

मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगले नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको हो ।

आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण रुपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”
प्रदर्शनको मानव अधिकारको दृटिकोणबाट अनुगमन गर्ने आयोगले जनाएको छ ।

“आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा आएका अभिव्यक्ति एवं सञ्चारमाध्यममा प्रकाशन, प्रसारण भएका सामग्रीलाई गम्भीररुपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्ति दिनेजस्ता गतिविधि भएको पाइएकाले यसबाट सर्वसाधारण नागरिकमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ ।”

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ । तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीकै प्राथमिक दायित्व रहेको आयोगको ठहर छ ।

अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह
ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले ¥याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो ।

ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ । ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media