नेताहरूलाई जहाँ भेट्यो त्यहीँ ठेगान लगाउने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा बस्ने वातावरण नहुँदा दसैंको मुखमा पनि नेपालीहरु विदेश जान बाध्य भएको बताएका छन् ।

आज काठमाडौंको बल्खुमा गरिएको प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थाका कारण दसैंको मुखमा पनि देश छोड्नु परेको बताए ।

आफू यो व्यवस्थाको अन्त्य गर्न दुर्गा मातालाई साक्षी राखेर आएको भन्दै उनले मर्न तयार रहेको तर नभाग्ने बताए ।

प्रहरीसँग पटक–पटक झडप गरेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले आमनेपालीका छोराछोरीलाई विदेशबाट देशमा फर्काएर देशलाई फेरि पुरानो नेपाल बनाउने बताए ।

अहिले नेपालमा संघीयता नचाहिने भन्दै उनले आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका, लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै प्रसाईंले यहीं कारण देश टाट पल्टेको तर्क गरे ।

उनले नेपालमा विद्रोहको विरुवा रोपिएको भन्दै नेताहरूलाई जहाँ भेट्यो त्यहीँ ठेगान लगाउने चेतावनी समेत दिए । सिंहदरबार र संसद् भवनका साथै पूरै काठमाडौँ कब्जा गर्ने भन्दै उनले आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आएको दाबी समेत गरे ।


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media