काठमाडौं । तीनकुने क्षेत्रमा आज पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बल्खुमा प्रदर्शन गरेपछि शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेको थियो । जसका कारण आज पनि तीनकुने वरपरको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी रहेका छन् ।
बल्खुमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सरकार शुक्रबारको प्रदर्शन रोक्ने प्रयास गरेको हो। दुर्गा प्रसाईंको समूहले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शनमा आउन लागेकालाई जडिबुटी, बालकुमारी र तीनकुन आसपासबाट फर्काउनुका साथै पक्राउ गरेको थियो।
आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई घरबाहिर निस्कन दिइएको थिएन । उनको घर रहेको ठाउँमा दिनभर प्रहरीले निगरानी गरेको थियो। शुक्रबार तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति नलिएको भन्दै राजावादी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जसले गर्दा आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका थिए।