काठमाडौं। सार्वजनिक सूचना विभागको साझेदार सङ्गठन वीलभयू फ़ाउण्डेशन द्वारा काठमाडौंमा क्लीन वर्ल्ड अभियान तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । राजधानीको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ भंगालमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भन्डारी , श्रम तथा बैदेशिक रोजगार मन्त्री शरत सिंह भण्डारी, प्रतिनिधि सभा साम्सद लेखनाथ दाहाल (राजन), बाग्मति प्रदेश साम्सद जयराम थापा , बूढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।
गोकर्णेस्वर, बूढानीलकण्ठ, बालुवाखानी, कपन लगायत काठमाडौंका ठाउँ-ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूका परिवार तथा छिमेकीहरूले, रक्तदान कार्यक्रम आयोजना गरिएको ठाउँ के.सी. ड्राइभिङ सेन्टरको ग्राउन्डदेखि भङ्गाल धोबीखोला आसपासको २ किलोमिटर क्षेत्र करीब १ घण्टा सरसफाइ गरेका थिए भने अपरान्ह २ बजेसम्म दर्जनौं व्यक्तिहरुले रक्तदान गरेको बताइएको छ ।
क्लीन वर्ल्ड अभियानचाहिँ स्वच्छ वातावरणमा स्वस्थ जीवन कायम राख्ने मूल्यमान्यता अन्तर्गत विश्वभरका सहरी क्षेत्र, पहाड, नदी तथा महासागरलाई सफा राख्ने एक वातावरण संरक्षण अभियान हो । यस संस्थाले काठमाडौंमा मात्र नभई ललितपुर, पोखरा, बनेपा, भरतपुर र बुटवल जस्ता ठाउँहरूमा पनि वातावरण संरक्षणका लागि अनेकन प्रयासहरू गर्दैआएको कार्यक्रम संयोजक रघु थापाले जानकारी दिएका छन् ।