काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।
काठमाडौंवासीले सो पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला उनले मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका उहाँले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको पनि बताए । मन्त्री यादवले फेरि उपभोक्ता, भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिए ।
यता, काठमाडौंवासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारबिरुद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।
स्थानीयले अर्थमन्त्रीसँगको भेटमा सो पानी एक हप्ताभित्र काठमाडौं आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुका अनुसार ११ करोड, ५० लाख ६६ हजार हेलम्बुका स्थानीयले माग गरेको रकम सरकारले तत्काल उपलब्ध गराए खानेपानी ल्याउने काममा देखिएको अवरोध हटनेछ ।
यसैबीच, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्चीको पानी काठमाडौं ल्याउने कुरामा हेलम्बुका स्थानीयले कुनै पनि अवरोध नगरेको स्पष्ट पारेका छन् ।
मंगलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । अध्यक्ष शेर्पाले स्थानीयसँग गरेको सम्झौता अनुसारको बजेट भने तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।
अध्यक्ष शेर्पाले स्थानीयसँग गरिएको सम्झौता पूरा नगरेको भन्दै सरकारको आलोचना पनि गरे ।