डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई बर्बादी तर्फ धकेलेको आरोप लगाएका छन् ।
एमालेको समृद्धिका लागि संकल्प यात्राको दोश्रो दिन डडेल्धुराको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमालेको सरकारलाई गलहत्याएर बनेको गठबन्धन सरकारले भ्रष्टाचार बाहेक अरु केही काम नगरेको र सम्हाल्नै नसक्ने गरी देश बर्बादीको दिशातर्फ गईरहेको जिकिर गरे ।
बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै विहिवार साँझ डडेल्धुरा पुग्नुभएका ओली सहितका केन्द्रीय पदाधिकारी तथा सैयौं नेता कार्यकर्ता र सर्बसधारणहरु उपस्थित रहेको सन्देश सभा अघि पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले प्रसिद्ध ऐतिहासिक ढुंगे किल्ला अमरगढीको अवलोकन गरी किसान नेता सहिद भिमदत्त पन्तको शालिकमा फूलमाला अर्पण गरेका छन् ।
शुक्रवार डडेल्धुरा बसपार्कमा आयोजित आमसभामा बोल्दै ओलीले बर्तमान सरकार अरुको कारण नभएर आफ्नै कारण ढल्ने बताए । उनले छेस्कामा उभिएकोले सरकार कसैका कारण नभएर आफैँ ढल्ने बताए । वर्तमान गठबन्धन सरकारले देशलाई ओरालो दिशामा घसेटिरहेको र नेपाली जनताका हितमा कुनै काम गर्न नसकेको बताउँदै उहाँले २०८४को आम निर्वाचनमा एमालेको नेतृत्वमा बहुमतको सरकार बन्ने दाबी पनि समेत गरे ।
प्रधानमन्त्री प्रचण्डले प्रचण्डपथमा लैजाने दुस्साहस गरे पनि संभव नभएको र संसदको सबै भन्दा ठूलो दल काँग्रेस पनि माओबादीको पुच्छर भएको उनले आरोप लगाए । आफ्नै नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण पनि जेलमा जाँदा कांग्रेस टुलुटुली हेर्नु बाहेकको ऊ सँग विकल्प नभएको उनले बताए ।