काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ ।
उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरिएको छ ।
तर जिल्ला अदालतको आदेशमा केहीको हकमा भने फेरबदल गर्दै उच्चले केहीलाई धरौटीमा छाड्न आदेश गरेको छ। यसैगरी केही प्रतिवादी भने तारेखमा छाडिएका छन् ।
शुक्रबार न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै तत्कालीन गृहमन्त्री थापाका सल्लाहकार इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दकुमार चौधरी र सागर राईलाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
यस प्रकरणमा पुर्पक्षका क्रममा थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपलगायत धरौटीमा छुट्ने भएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
काठमाडौं जिल्ला अदालतले गत असार १ मा उक्त आदेश गरेको थियो । आफूहरूलाई थुनामा पठाउने आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।