पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री 

राष्ट्रपाटी न्युज

१६ मंसिर २०८०

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्न नहुने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) को अवसरमा हिमालका मुद्दा सम्बन्धमा आयोजना गरिएको उच्चस्तरीय कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो, यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको छ ।’ उनले यस सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘यो हाम्रो न्यायको विषय हो र अधिकारको विषय पनि हो ।’ सबै मिलेरमात्र यो मुद्दा सम्बोधनका लागि प्रयास गर्न सकिनेमा उनको जोड थियो ।

कार्यक्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले हिमालका मुद्दा सम्बोधन गर्न ढिला गरे यसबाट अपूरणीय क्षति हुने बताउँदै जिम्मेवार मुलुक र निकायले छिटोभन्दा छिटो सम्बोधन गर्न लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘मैले आफैँले हिमालमा जलवायु परिवर्तनमा असर हेरेर आएको छु । अब यसमा ढिला भइसक्यो । सम्बोधन गर्न सबै लाग्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको कार्यक्रममा महासचिव, एन्डोराका प्रधानमन्त्री, किर्गिस्तानका मन्त्री, भूटानका प्रतिनिधिमण्डलका प्रमुख, विभिन्न निकायका उच्च अधिकारी, वैज्ञानिकलगायतले पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएका छन् ।  यही मंसिर १४ देखि सुरु भएको कोप–२८ सम्मेलन २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म चल्नेछ ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरे पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाई हिम भण्डारहरू पग्लने अनुमान अध्ययनहरूले गरेका छन् ।

 


Published :१६ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media