एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न पाँच सदस्यीय समिति गठन

राष्ट्रपाटी न्युज

२१ मंसिर २०८०

काठमाडौं । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेल भएको आशंका गर्दै अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति बनाएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।

उच्चस्तरीय समितिका सदस्यहरूमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव राजस्व महाशाखा प्रमुख रितेशकुमार शाक्य, नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आईक्यान)का अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रक्रणमा संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।

आजियटा समूहको स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडले सन् २०१६ मा एनसेलमा रहेको स्विडेनको टेलियासोनेराको ८० प्रतिशत सेयर एक खर्ब ४३ अर्ब रूपैयाँमा खरिद गरेको थियो । आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेपछि अनेकन आशंकाहरु उब्जिएका हुन् ।  यो अवधिमा एनसेलले आजियटालाई दुई अर्ब दुई करोड रूपैयाँ लाभांश दिएको थियो ।

आजियटा समूहको सेयर खरिद गर्ने स्पेक्ट्रलाइट युके लिमिटेड नयाँ हो । यो कम्पनी एनसेलमा २० प्रतिशत सेयर भएको सुनिभेरा क्यापिटल भेन्चर्सका लगानीकर्ता सतिशलाल आचार्यको हो । उनी गैरआवासीय नेपाली हुन । स्पेक्ट्रलाइट यूके लिमिटेड एक पाउण्डमा दर्ता भएको बुझिएको छ ।

उता ८० प्रतिशत शेयर किनेको स्पेक्ट्रलाइट युके लिमिटेड प्रतिस्पर्धाबाट छानिएको दावी गर्दै एनसेलले कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानुनको पालना गर्ने जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एनसेलले आजियाटाले पारदर्शिता सुनिश्चित गरिएको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो ।’

 


Published :२१ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media