देशको आर्थिकस्थिति ऋण लिएर तलब खुवाउने अवस्थामा पुग्यो : डा. कोइराला

राष्ट्रपाटी न्युज

२३ मंसिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस एक्लै चुनाव लडेत्रमात्र बलियो पार्टी बन्ने दाबी गरेका छन्। चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् ।

डा. कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताए। ‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन। कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ’, डा कोइरालाले भने।

‘केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ। यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो। यसको नतिजा चितवनमा कांग्रेसको सङ्गठन कमजोर हुँदै गएको छ। यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ’, कोइरालाले भने।

उनले स्वदेशमा अध्ययन र काम गर्ने वातावरण नभएकाले गत वर्षमात्र प्लस टु पढेर एक लाख २७ हजार विद्यार्थी विदेश गएका भन्दै उक्त युवाशक्तिलाई स्वदेशमा रोक्नका लागि सरकारले ठोस कार्यक्रम अगाडि सार्नुपर्ने बताए। कुनै पनि देशलाई समृद्ध बनाउन कृषि उत्पादन बढाउन जरुरी रहेको कोइरालाको भनाइ थियो।

देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने उनले बताए। महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृ संस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाले बताए ।


Published :२३ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media