सरकारका राम्रा कामबाट विक्षिप्त भएकाहरु षड्यन्त्रमा लागेका छन् : प्रधानमन्त्री दाहाल

राष्ट्रपाटी न्युज

२५ मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामबाट विक्षिप्त बनेकाहरू भ्रम र जालझेलको षडयन्त्रमा लागेको टिप्पणी गरेका छन्।

सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तराष्ट्रिय कुटनीतिका क्षेत्रमा राम्रा कामहरु अघि बढाएपछि व्यवस्थाविरोधी शक्तिहरू अत्तालिएको उनको भनाई थियो।

काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनेको बेला देखि नै सरकारविरुद्ध लागेकाहरू अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताए।

‘एकथरि व्यक्तिहरुले सरकार गठन भएदेखि नै नेपाल श्रीलंका बन्ने भयो, उत्पातै हुनेभयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे,’ उनले भने, ‘तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षडयन्त्रमा लागेका छन्। यतिले मात्रै नपुगेर संघीयता, धर्मनिरपेक्षता, जाति, वर्ग क्षेत्र लिंगका अधिकारविरुद्ध लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्न पुगेका छन्। संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेका छन्।’

सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उनले बताए। सरकारले युगौंदेखिका सामन्ती उत्पीडनहरुको अन्त्य गर्न मीटरब्याज पीडितहरूका पक्षमा कानुन नै दिएर सामन्ती दलालहरूको पीडाबाट हजारौं जनतालाई मुक्ति दिन सफल बनेको उनको जिकिर थियो।

यसैगरी लाखौं लाख नेपाली आमाबुवाका सन्तानले नागरिकता नपाउने पीडाको समेत सम्बोधन गरेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सुशासनका पक्षमा सरकारले ठूलाठूला भ्रष्टाचारका काण्डहरुको छानबीन अघि बढाएको, भूमाफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाएको, अन्तर्राष्ट्रिय क्षेत्रमा सफल कुटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरेको बताउँदै यी कामहरुबाट व्यवस्थाविरोधी शक्तिहरू छटपटिएको बताए।

अर्थतन्त्रमा देखिएको संकटलाई ठूलो देखाएर नेपालमा के के न हुने हो भन्दै जनतालाई आतंकित बनाएको प्रसंग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै क्षेत्रसँग निरन्तर छलफल र संवादको प्रयासमार्फत अर्थतन्त्रमा देखिएको बाह्य र आन्तरिक दबाब कम गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने वातावरण बनाएपछि अराजक तत्वहरु झनै अत्तालिएको बताए।

प्रधानमन्त्री प्रचण्डले इतिहासमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउँदै नेपाली समाजमा देखिएका समस्याहरु लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने ठोकुवा समेत गरे।

प्रधानमन्त्री प्रचण्डले सामन्ती भूस्वामित्वका कारण सिर्जना भएको सुकुम्बासी तथा भूमिहीनहरुको समस्या समाधान गर्न समेत सरकारले निर्णायक पहल गरेको बताए।

नेपालमा सुकुम्बासी समस्यालाई सधैंका लागि अन्त्य गर्न वन तथा भूमि ऐनले अवरोध सिर्जना गरेपछि दुबै ऐन संशोधन गरेर केही समयभित्रै लाखौंलाख सुकुम्बासीलाई जग्गा प्रदान गर्ने काममा सरकार अघि बढेको उनले जानकारी दिए।


Published :२५ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media