काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको उच्च शिक्षाको सुधार र अन्तर्राष्ट्रियकरणको सवाललाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आफ्नै शिक्षण अस्पताल स्थापना गर्न गरेको प्रयास सराहनीय भएको भन्दै शुभकामना दिएका हुन्।
काठमाडौं विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न एकदमै सराहनीय रहेको बताए ।
प्रचण्डले नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न आग्रह गरे ।
उनले काठमाडौं विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहेका प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गरे ।