राष्ट्रियसभा निर्वाचनमा न्यायपूर्ण ढंगले टिकट वितरण गर्न कांग्रेस शेखर समूहको माग

राष्ट्रपाटी न्युज

२७ मंसिर २०८०

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण तवरले टिकट वितरण गर्नुपर्ने माग गरेको छ ।

बुधबार काठमाडौंमा बसेको कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफ्नो समूहको संरक्षकको काममात्रै रहेको र आफू अनुकूललाई मात्रै टिकट दिएको भन्दै यसपटक भने मापदण्डलाई विशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्ने माग गरेको हो ।

यसअघिको निर्वाचनमा मापदण्डलाई बेवास्ता गरिएको र भेद्भाव भएको भन्दै आगामी राष्ट्रियसभा निर्वाचनमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत सो समूहको भेलाले गरेको छ। भेलामा राष्ट्रियसभा निर्वाचनलगायत पार्टीको आन्तरिक विषयमा छलफल भएको कांग्रेस नेता शेखर कोइरालाले बताए ।

उनले देश र कांग्रेस ठीक ढंगले चल्न नसकेकोमा आफूहरूको ध्यान केन्द्रित रहेको बताए। कोइरालाले आफ्नो समूह ठीक ढंगले चलेको र महामन्त्री र आफ्नो एजेण्डामा एक इन्च पनि फरक नरहेको दाबी गरे ।

त्यस्तै कांग्रे महामन्त्री गगन कुमार थापाले राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई विशेष ख्याल गर्दै न्यायापूर्ण तवरले टिकट वितरण गर्नुपर्नेमा आफूहरूको जोड रहेको बताए ।

बैठकमा महासमिति बैठकलाई तोकिएको समयमा नै प्रभावकारीरूपमा गर्नुपर्ने विषयमा पनि छलफल भएको उनले बताए। महामन्त्री थापाले कांग्रेस सरकारमा भएका बेला एकमाथि अर्को प्रकरण आउनुलाई सामान्यरूपमा लिन नहुने भन्दै पार्टीभित्र बृहत् छलफल गर्नुपर्ने बताए । थापाले कोइराला र आफूबीच एजेण्डागत रूपमा कुनै समस्या नभएको पनि स्पष्ट पारे ।


Published :२७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media