काठमाडौँ । कांग्रेस संस्थापन इतरपक्षको बुधबारको बैठकमा महामन्त्री गगन थापाले पार्टी रूपान्तरणका लागि शेखर कोइराला संसदीय दलको नेता बन्नुपर्ने प्रस्ताव गरेका छन् ।
एक वर्षयता सम्बन्धका विभिन्न आरोह–अवरोहबीच गुज्रिएका थापाले जुनसुकै त्याग गर्न तयार भएको भन्दै २०८२ मा १५ औं महाधिवेशन नियमित समयमा गर्न भन्दै यस्तो प्रस्ताव राखेपछि कोइरालासँग झाँगिएको अविश्वास तत्कालका लागि टरेको छ ।
नेता अर्जुननरसिंह केसीको निवासमा सोमबार करिब दुई घण्टाको संवादमा दुवै नेताले आ–आफ्ना कमजोरी समीक्षा गर्दै सँगै अघि बढ्ने अठोट गरेका थिए । त्यसलगत्तै कोइरालाले मंगलबार बोलाएको बैठक थापाको सुविधाका लागि बुधबार सारेका थिए ।
पार्टी रूपान्तरण र २०८२ मा नियमित महाधिवेशन गराउन थापाले संसदीय दलको नेता परिवर्तनको मुद्दालाई निरन्तर अघि बढाउँदै आएका छन् ।
विधानले चार वर्षको कार्यकाल निर्धारण गरे पनि असाधारण परिस्थिति देखाएर थप एक वर्ष लम्ब्याउन सक्ने सुविधालाई देउवाले यस पटक प्रयोग गर्न सक्ने बुझाइ थापासहितका संस्थापनइतर अधिकांश नेताको छ ।
त्यसलाई रोक्न र पार्टीले प्रधानमन्त्री पाउने समयमा देउवाको विकल्प खोज्नुपर्ने भन्दै थापाले कोइरालालाई संसदीय दलको नेता बनाउन आफूले जस्तोसुकै त्याग गर्न तयार भएको भनाइ राखेका छन् ।
गत वर्ष पुसमा महामन्त्री थापा नै संसदीय दलको नेतामा देउवाको प्रतिस्पर्धी थिए । त्यतिबेला थापाले २५ मत प्राप्त गर्दा देउवाले ६४ मत ल्याएका थिए ।