एनसेलको सेयर खरिदबिक्रीविरुद्ध नेविसंघको प्रदर्शन

राष्ट्रपाटी न्युज

२८ मंसिर २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एनसेलको सेयर खरिदबिक्रीविरुद्ध प्रदर्शन गरेको छ ।

एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आएको भन्दै नेविसंघले भष्टाचारलाई जरैदेखि उखेलेर देशमा सुशासन कायम गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

नेविसंघको केन्द्रीय तदर्थ समितिले बिहीबार बिहान बागबजारस्थित पद्मकन्या क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। एनसेलको सेयर खरिदब्रिकी प्रकरणलगायत अन्य भ्रष्टाचारका विषयमाथि गहिरो अनुसन्धान हुनुपर्ने माग गर्दै  विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।

एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट समेत परेको छ। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ।

र्‍यालीका क्रममा विभिन्न नारा लेखेका प्ले कार्ड प्रदर्शन गरिएका थिए। कांग्रेस सरकारमा रहँदा कुशासन किन ? एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आउँछ,काण्डै काण्डको सहर ,भ्रष्टाचार कुशासन अनियमितता कहिलेसम्म ? जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।


Published :२८ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media