काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।
बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्।
प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित स्थान दिन प्रधानमन्त्री दाहालसँग आग्रह गरेका हुन् ।
अनुसार नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा कम्तीमा एक सिट पाउनुपर्ने माग गरेको छ । त्यसका लागि संरक्षक चौधरी र पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले तीव्र लबिङ गरिरहेका छन् ।
सो पार्टीले सिट पाउने सुनिश्चित भएपछि मात्रै उम्मेदवारको टुंगो लगाउने भएको छ ।
यसैबीच नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा आयोगमा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक मत रहेको छ।
त्यस्तै प्रधानमन्त्रीसँग छलफलमा मुक्त कमैया र हलियाहरूको व्यवस्थापनका लागि छिट्टै ऐन नियम बनाउन उनले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेको भन्दै संरक्षक चौधरीले आर्थिक प्याकेजसहित बाँझो जमिन दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।