काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटेका छन्। उच्च अदालत पाटनले बिहीबार खाँणलाई धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन्। न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको हो।
यसअघि न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख रुपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न राय दिएका थिए। सोही रायलाई सदर गर्दै न्यायाधीश कोइरालाको एकल इजलासले धरौटीमा छोड्ने आदेश दिएको अदालतका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए।
मंसिर १५ गते उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र पाण्डेको संयुक्त इजलासमा खाँणलाई थुनामै राख्ने कि धरौटीमा छाड्ने विषयमा राय बाझिएको थियो। उक्त विवादको टुंगो तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने निर्णय भएको थियो।