अध्यक्ष ओलीले चिवाभञ्ज्याङमा झन्डा फहराएसँगै एमालेको समृद्धिका लागि संकल्प यात्रा समापन

राष्ट्रपाटी न्युज

मंसिर ३०, २०८०

काठमाडौं । मंसिर १४ गते बैतडीको झुलालघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु भएको नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फहराएर नै समापन गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराए मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको समापन गरेका हुन ।

आइतबार फिदिमबाट हेलिकप्टरमा मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु चिवाभञ्ज्याङ पुगेका ओली आजै काठमाडौँ फर्किने तयारीमा छन् । अध्यक्ष ओली आजै काठमाडौं फर्किनु परेकाले हेलिकप्टर प्रयोग गर्नु परेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बताएका छन् । अन्य नेताहरु गाडीबाट त्यहाँ पुगेका थिए । उनीहरु आज पाँचथर नै बस्ने बताइएको छ ।

बैतडीको झुलाघाटदेखि पाँचथरको याङवरक गाउँपालिका १ र भारतको सिक्किमसँग सिमाना जोडिएको चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्गको करिब २ हजार किलोमिटरको एमाले यात्रा टुंगिन हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु चिवासम्म नेपालतर्फबाट गाडी गुड्न थालेपछि चिवाभञ्ज्याङ चर्चामा आएको थियो । अहिले एमालेको अभियानले यो ठाउँको थप चर्चा भएको छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने, विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।

यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए ।


Published :मंसिर ३०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media