उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

राष्ट्रपाटी न्युज

१५ कार्तिक २०८१

सोल । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रमध्ये एकको परीक्षण गरेको जनाएको छ । यो उत्तर कोरियाली नेता किम जोङ उनलाई रुसमा सैनिक पठाएको आरोप लगाएयता उनको पहिलो हतियार परीक्षण हो ।

परमाणु–सशस्त्र उत्तर कोरियाले आउँदो हप्ता हुने अमेरिकी चुनावअघि अर्को अन्तरमहाद्वीपीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) वा परमाणु परीक्षण समेत गर्न सक्ने थियो भनी सोलले एक दिनअघि चेतावनी दिएको थियो ।

यो प्रक्षेपण अमेरिकी र दक्षिण कोरियाली रक्षा प्रमुखहरूले प्योङयाङलाई आफ्ना सैनिकलाई रुसबाट फिर्ता बोलाउन आह्वान गरेको केही घण्टापछि भएको हो । उनीहरूले उत्तर कोरियाली सैनिक रुसी बर्दीमा युक्रेनविरुद्ध सम्भावित कारबाहीका निम्ति तैनाथ गरिएको बताएका थिए ।

“अहिलेसम्मको प्रारम्भिक मूल्यांकनानुसार प्योङयाङले नयाँ ठोस चालित लामो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हुनसक्छ,” सोलको सेनाले भन्यो ।

क्षेप्यास्त्र माथितिर प्रक्षेपण गरिएपछि करिब एक हजार किलोमिटर उडेको थियो ।

प्रक्षेपण गर्न छिटो र पत्ता लगाउन तथा पहिले नै नष्ट गर्न कठिन उन्नत ठोस–चालित क्षेप्यास्त्रको विकास किमको लामो समयदेखिको लक्ष्य रहेको छ ।

उत्तर कोरियाले प्रतिबन्धविपरीत प्रक्षेपणको बचाउ गर्दै यसलाई ‘हाम्रो प्रतिक्रियाबारे प्रतिद्वन्द्वीलाई सूचित गर्ने उद्देश्य पूरा गर्ने एउटा उपयुक्त सैन्य कार्य’ भनेको सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सीले किमलाई उद्धृत गर्दै जनाएको छ ।

परीक्षणले उत्तर कोरियाको ‘रणनीतिक क्षेप्यास्त्र क्षमताको हालैका रेकर्ड अपडेट गरेको’ बताइएको छ । किमले आफ्नो देशले ‘परमाणु शक्ति बलियो बनाउने लाइन कहिल्यै परिवर्तन नगर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो करिब ८६ मिनेट हवामा रहेको र सात हजार किलोमिटरको उचाइसम्म पुगेको थियो ।

“यसको उडान उचाइ हामीले देखेको सबैभन्दा उच्च थियो भन्ने हामीले अनुमान गरेका छौँ,” जापानी रक्षामन्त्री जेन नाकातानीले पत्रकारहरूलाई बताए ।

वासिङटनले यो प्रक्षेपणलाई ‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का धेरै प्रस्तावको स्पष्ट उल्लंघन’ भनेर निन्दा गरेको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता शन सावेटले एक वक्तव्यमा बताए ।

प्रमुख क्षेत्रीय सहयोगीहरू सोल, वासिङटन र टोकियोले अमेरिकी रणनीतिक सम्पत्ति समावेश गरेर संयुक्त सैन्य अभ्यासद्वारा जवाफ दिने सोलले जनाएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति युक सुक येओलले पनि देशले उत्तर कोरियामाथि ‘नयाँ स्वतन्त्र प्रतिबन्ध लगाउने’ र साझेदार र राष्ट्रसंघसँग मिलेर प्योङयाङको ‘सुरक्षा परिषद् प्रस्तावको नियमित उल्लंघन’लाई दण्डित गर्न काम गर्ने बताए । (रासस/एएफपी)


Published :१५ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media