८६ लाखको अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८१

सर्लाही । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ ।

बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ४१९० नम्बरको ट्रकबाट बिलबिजकभन्दा अधिक रु २० लाख ७५ हजार पाँच सय २७ बराबरको चिनियाँ लसुन बरामद गरेको हो।

यसैगरी, वीरगञ्जबाट झापाको बिर्तामोडतर्फ गइरहेको ना ७ ख ९४६५ नम्बरको कन्टेनरबाट अवैध रूपमा ल्याइएका मोटरपार्टस् बरामद भएका प्रहरीले जनाएको छ। प्रज्ञापनपत्र नभएका मोटरपार्टस्, टायरलगायत सामान तथा बिलबिजकमा उल्लेख भएभन्दा बढी भाँडावर्तन र तयारी कपडा बरामद भएको हो।

वरामद ती सामान रु ६५ लाख ८६ हजार नौ सय ६१ बराबरका भएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। ट्रक र कन्टेनरका गरी रु ८६ लाख ६२ हजार चार सय ८८ बराबरका अवैध सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको छ। (रासस)


Published :१३ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media