इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

१३ मंसिर २०८१

काठमाडौँ । पश्चिमी इन्डोनेसियामा तीव्र वर्षाका कारण भएको बाढीबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको उद्धार अधिकारीले बिहीबार बताएका छन्।

राष्ट्रिय विपद् एजेन्सीको तथ्याङ्कअनुसार सप्ताहन्तमा उत्तरी सुमात्रा प्रान्तका चार जिल्लामा बाढी र भूस्खलनले कम्तीमा २० जनाको ज्यान गएको छ।

भारी वर्षापछि मङ्गलबार उत्तरी सुमात्रा प्रान्तको डेली सर्डाङ जिल्लाको दुर्गम सडकमा पछिल्लो भूस्खलन भएको हो।

“आजसम्म सेम्बाहे गाउँमा भूस्खलनको घटनाबाट सात जनाको मृत्यु भएको छ”, स्थानीय खोजी र उद्धार एजेन्सीका प्रवक्ता सरिमन सिटोरसले बताए। भूस्खलन हुँदा त्यस क्षेत्रबाट गुज्रिएको पर्यटक बसबाट धेरैजना मृतकलाई निकालिएको उहाँले बताउनुभयो।

खोजी कार्यमा सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको छ। नजिकैको अस्पतालबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै सरिमनले भूस्खलनमा कम्तीमा १६ जना घाइते भएको जानकारी दिए।

इन्डोनेसियामा वर्षाको मौसममा सामान्यतया नोभेम्बर र अप्रिलको बीचमा भूस्खलन हुने सम्भावना हुन्छ तर हालैका वर्षहरूमा प्रतिकूल मौसमका कारण केही प्रकोपहरू त्यस मौसम बाहिर भएका छन्।

मे महिनामा पश्चिम सुमात्राको माराफी पर्वतको विस्फोटनबाट ढुङ्गा, बालुवा र ढुङ्गाको मिश्रण बगेर आवासीय क्षेत्रमा खसेपछि कम्तीमा ६७ जनाको मृत्यु भएको थियो। (रासस)


Published :१३ मंसिर २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media