काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा ४४ मध्ये ११ स्थान जितेर दोस्रो हुँदा हर्षित बनेको माओवादीको आज बसेको बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।
कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भए पनि त्यसलाई पनि जितकै रुपमा लिइएको बताउँदै सापकोटाले भने ‘अब सबै तयारी २०८४ को चुनाव जित्नका लागि गर्ने र त्यसका लागि पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको सुशासनको अभियानलाई जनतासम्म लैजाने, पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने छ ।’
समसामयिक विषयमा छलफल गर्दै बैठकले सरकारको प्रभावकारिता शून्य अवस्थामा रहेको निष्कर्ष निकाले छ। तर, पनि आफ्नो पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै निर्णयमा अडिग रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
सापकोटाले २०८४ को चुनावको एजेण्डा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन र सांसदहरु मन्त्री नबन्ने गरी संविधानमा व्यवस्था गर्न माओवादी केन्द्रले पहल गर्ने रहने बताएका छन् ।