अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या

काठमाडौँ । अमेरिकामा नयाँ वर्ष मनाइरहेको भिडमा ट्रक कुदाएर १५ जनाको हत्या भएको छ।

अमेरिकाको लुइसियाना प्रान्तस्थित न्यू ओर्लिन्सको बार्बन स्ट्रिटमा नयाँ वर्ष मनाइरहेको भिडमा एक संदिग्धले ट्रक कुदाएर १५ जनाको हत्या गरेका हुन्।

फ्रेन्च क्वार्टर पनि भनिने उक्त स्थानमा नयाँ वर्ष मनाउन सयौं मानिसहरू जम्मा भएका थिए। स्थानीय समयअनुसार बिहान ३:१५ बजे एक संदिग्धले भिडमा ट्रक कुदाएपछि गाडीभित्रैबाट गोलीसमेत चलाएका थिए।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार १५ जनाको मृत्यु र कम्तिमा ३५ जना घाइते भएका छन्। घाइते हुनेमा दुई प्रहरी पनि छन्।

भिडमा ट्रक कुदाउँदै गोली चलाएपछि त्यहाँ उपस्थित प्रहरीले जबाफी गोली चलाएको थियो। प्रहरीको गोली लागेर संदिग्धको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

संदिग्ध ४२ वर्षीय शमशुद दिन जब्बर रहेको खुलेको छ।

समाचार संस्था रोयटर्सले उनी अमेरिकी सेनाको निवृत्त सैनिक रहेको भनेको छ। उसले चलाएको ट्रकमा आइएसआइएसको झन्डा लगाएको पनि भनिएको छ।

राष्ट्रपति जो बाइडेनले पनि ती व्यक्ति आइएसआइएसबाट प्रभावित रहेको भन्दै घटनाको सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएका छन्।

घटनाको एफबिआईले अनुसन्धान गरिरहेको छ । (एजेन्सी)


Published :पुस १८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media