अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सभापति यादव र सांसद सुवालबीच चर्काचर्की

काठमाडौँ । प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सभापति राजकिशोर यादव र सदस्य प्रेम सुवालबीच चर्काचर्की भएको छ।

बिहीबारको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनबारे सुवालले धारणा राखिरहेका बेला सभापतिसँग भनाभन भएको हो।

सुवालले सदा झै अप्रासंगिक र लामो मनतव्य राखेपछि सभापति यादवले रोक्न खोजेपछि दुईजनाबीच असहज अवस्था सिर्जना भएको हो। आफूलाई रोक्न खोजपछि सांसद सुवालले औंला उठाउँदै सत्ता पक्षीय दलका सांसदलाई जनि पनि बोलने दिएको र आफूलाई रोकेको भन्दै असन्तुष्टि जनाए।

जवाफमा यादवले सभापतिका रुपमा आफूले कसैमाथि पनि विभेद नगरेको भन्दै औंला ठड्याएर नौटंकी नगर्न भने।

जवाफमा सुवाल झन रिसाउँदै समितिमा निरंकुश नहुन र राणा शासन नचलाउन आग्रह गरे।

रिसाएका यादवले सुवाललाई फेरि हिरो नबन्न भन्दै झोक्किए। सुवालले यस्तो प्रवृति देखाए समितिबाट हुत्याउने चेतावनी दिए। विवादकै बीच बिहीबार समितिको बैठक सकिएको घोषणा सभापति यादवले गरे। त्यसपछि पनि दुईजनाबीच केही बेर भनाभन भएको थियो।

दुईबीच विवाद चलिरहँदा सभापति यादवलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका समिति सदस्य माधवकुमार नेपालले विवाद नगर्न भन्दै पटक पटक रोकिन आग्रह गरेका थिए।


Published :२५ पुष २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media